टुँडिखेलमा भएको अमेरिकी ब्यान्ड प्रस्तुतिलाई लिएर उठेको ‘परेड’ बहसले प्रश्न खडा गरेको छ -के यो साँच्चै सार्वभौमसत्तामाथिको हस्तक्षेप हो, कि वर्षौँदेखि चल्दै आएको सैनिक कूटनीतिक आदान-प्रदानको नियमित अभ्यास मात्र ?
काठमाडौँ । २६३ औँ नेपाली सेनाको स्थापना दिवसका अवसरमा आइतबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित सांस्कृतिक कार्यक्रममा अमेरिकी सेनाको ब्यान्ड टोलीले दिएको प्रस्तुति सामाजिक सञ्जालमा ठूलो बहसको विषय बनेको छ। कतिपय प्रयोगकर्ताले यसलाई ‘अमेरिकी सेनाको परेड’ भन्दै आलोचना गरेका छन्। तर यो दृश्यसँग सम्बन्धित पृष्ठभूमि बुझ्दा स्थिति केही फरक देखिन्छ।
कार्यक्रममा नेपाली सेनाका साथै मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीले सांगीतिक प्रस्तुति दिएका थिए। यद्यपि अमेरिकी सेनाको प्रस्तुति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यस विषयमा टिप्पणी गर्दै ‘अमेरिकी सेनाको परेड सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नाङ्गो नाच’ भएको बताएसँगै राजनीतिक रूपमा पनि थप बहसको विषय बनेको छ। झापामा एक अनलाइनसँग कुरा गर्दै उनले नेपालको संस्कृतिप्रति ठाडो हस्तक्षेपको सुरुवात गरिएको दाबी गरेका थिए। तर यस्तै प्रस्तुति उनकै प्रधानमन्त्री कार्यकालमा पनि दिइएको बताइन्छ।
सोसल मिडियामा भाइरल भएका तस्बिर र भिडियो क्लिपमा विदेशी पोसाकमा देखिएका ब्यान्ड सदस्यहरूलाई लिएर कतिपयले नेपालमा विदेशी सेनाले औपचारिक परेड खेलेको आरोप लगाएका छन्। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा केहीले यसलाई राजनीतिक र कूटनीतिक संवेदनशीलतासँग जोडेर पनि टिप्पणी गरेका छन्।
सेनाको प्रष्टिकरण : ‘यो पुरानो परम्परा’
तर नेपाली सेनाले सामाजिक सञ्जालमा गरिएको दाबी गलत भएको भन्दै यो पुरानै परम्पराअनुसारको सांगीतिक प्रस्तुति मात्र भएको स्पष्ट पारेको छ। बाह्य देशका सेना नेपाल आउने र नेपाली सेनाले पनि अन्य देशमा गएर प्रस्तुति दिने अभ्यास विगतदेखि चल्दै आएको सेनाको भनाइ छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, सेना दिवसका अवसरमा भारत, बेलायत र अमेरिकाका ब्यान्ड टोलीबाट सांगीतिक प्रस्तुति हुनु नयाँ कुरा होइन। ‘यो ऐतिहासिक संस्कृति र संस्कार आदान-प्रदानको कार्य हो। सैनिक कूटनीति र सम्बन्ध विस्तारको एउटा माध्यम पनि हो,’ उनले प्रशासनसँग भने।
बस्नेतका अनुसार, नेपाली सेनाको ब्यान्ड टोलीले पनि भारत, अमेरिका, बेलायतलगायतका देशका सेना दिवसका कार्यक्रममा प्रस्तुति दिने गरेको छ। पूर्व प्रधानमन्त्री ओलीकै कार्यकालमा समेत ती मुलुकका सेनाले नेपालमा सांगीतिक प्रस्तुति दिएका थिए।
२८ फागुनमा जंगीअड्डामा भएको सांस्कृतिक कार्यक्रममा पनि छिमेकी मुलुकका सेनाले प्रस्तुति दिएका थिए, जहाँ भारत र पाकिस्तानका अधिकृतहरूसमेत सहभागी थिए। ‘सैनिक-सैनिक स्तरको सहकार्यअन्तर्गत यो विश्वव्यापी चलन हो र हाम्रोमा पनि धेरै अघिदेखि निरन्तर रूपमा हुँदै आएको अभ्यास हो,’ बस्नेतले थपे।

अन्तर्राष्ट्रिय सैन्य सहकार्य
सैनिक कूटनीतिअन्तर्गत नेपाली सेनाले विभिन्न देशसँग संयुक्त सैन्य अभ्याससमेत गर्दै आएको छ। भारतसँग ‘सूर्यकिरण’, चीनसँग ‘सगरमाथा फ्रेन्डसिप’, अमेरिकासँग ‘ब्यालेन्स्ड नेल’ र बेलायतसँग ‘क्याब्रियन पट्रोल’ नामक अभ्यास हुँदै आएका छन्।
सैन्य सम्बन्ध विस्तारका लागि सेनाले विभिन्न अन्तर्राष्ट्रिय सैन्य प्रतियोगितामा पनि भाग लिने गरेको छ। बेलायतमा हुने ‘क्याब्रियन पट्रोल’ प्रतियोगितामा नेपाली सेनाले पटक-पटक स्वर्ण पदक जितेको छ। पाकिस्तानमा १७ देशका ३८ टिम सहभागी भएको एक सैन्य प्रतियोगितामा समेत नेपाली सेनाले प्रथम स्थान हासिल गरेको सेनाले जनाएको छ।

अमेरिकी ब्यान्ड प्रस्तुति सामान्य कूटनीतिक अभ्यास
अमेरिकी सेनाको ब्यान्ड टोलीले दिएको सांगीतिक प्रस्तुतिलाई सामाजिक सञ्जालमा ‘अमेरिकी सेनाको परेड’ भनेर दाबी गर्दै आलोचना भएपछि, नेपाली सेनाका पूर्व जर्नेल राजेन्द्र थापाले ब्यान्ड प्रस्तुति सामान्य कूटनीतिक अभ्यास भएको बताएका छन्।
उनका अनुसार, केही दिनअघि भारतको आर्मी डेमा दिल्लीमा भएको परेडमा नेपाली सेना ब्यान्डले भारतीय सेना प्रमुख सामु ‘रातो र चन्द्र’ बजाउँदा सबैले ताली बजाएर स्वागत गरेका थिए। ब्यान्ड प्रस्तुति भनेको सेनाको प्रेरणा र सांगीतिक गौरव प्रदर्शन गर्ने गैर-सैन्य गतिविधि मानिने उनको भनाइ छ।
एक अर्काको देशमा सेना दिवस, राष्ट्रिय दिवस वा अन्य औपचारिक कार्यक्रममा ब्यान्ड टोली आदान-प्रदान गर्नु दुई देश र तिनका सेनाबीचको मित्रता र सौहार्दको प्रतीक हो। वर्षौँदेखि ब्रिटेन र भारतबाट ब्यान्ड टोली आउने-जाने परम्परा रहेको उनले स्मरण गराए। थापाका अनुसार, अमेरिकाले सन् १९४६ देखि नेपालसँग कूटनीतिक सम्बन्ध राख्दै आएको छ र ब्रिटेनपछि नेपालको दोस्रो कूटनीतिक साझेदार हो। संयुक्त राष्ट्रसंघमा नेपाललाई सदस्यता दिलाउने क्रममा सोभियत संघको बारम्बारको आपत्तिका बाबजुद अमेरिकाले नेपाल स्वतन्त्र राष्ट्र भएको उनले प्रशासनसँग भने।
सन् १९६५ देखि अमेरिकाले नेपाली सेनालाई स्टाफ कलेजमा सिट उपलब्ध गराउँदै आधुनिक सेनाका रूपमा मान्यता दिएको उनले बताए। उनले मेजर अर्जुन नरसिंह राणा अमेरिकामा स्टाफ कलेज जाने पहिलो नेपाली सैनिक भएको जानकारी दिँदै त्यसपछि भारत, चीन, अमेरिका लगायतका देशसँग संयुक्त अभ्यास र तालिमको आदान-प्रदान निरन्तर भइरहेको बताए।
शान्ति सेना तालिम, स्टाफ कलेज, काउन्टर इन्सर्जेन्सी, माउन्टेन वारफेयर तथा क्याडेट तालिम जस्ता कार्यक्रमहरूमा नेपालमा मात्र होइन, अफ्रिकाका देशहरूबाट पनि सहभागीहरू आउने गरेको उनको भनाइ छ।
थापाका अनुसार, सेनाबीचको सम्बन्ध भनेको सैनिक विज्ञान, प्रविधि, युद्धकला, आतंकवादविरुद्धका रणनीति तथा आपत्–विपद् उद्धारसम्बन्धी आधुनिक अभ्यास र उपकरणहरूको आदान-प्रदान हो। यस्तो सैनिक सम्बन्ध प्रत्येक देशको कूटनीतिक क्षेत्रमा बलियो संयन्त्रका रूपमा काम गर्छ।

यस्तै नेपाल प्रहरीका पूर्व डिआइजी एवम् अपराध अनुसन्धानविद् हेमन्त मल्ल ठकुरीले सुरक्षा निकायहरूबीच यस्ता प्रस्तुति र अनुभव आदान-प्रदानका लागि एक अर्काको देशमा जाने-आउने प्रचलन सामान्य रहेको बताए। उनका अनुसार, ब्यान्ड प्रस्तुति सिक्ने र सिकाउने परम्परागत अभ्यास हो र यसबारे सामाजिक सञ्जालमा नकारात्मक अफवाह फैलाउनु उचित होइन।
उनले आफू पनि विभिन्न देशहरूमा यस्तै किसिमका कार्यक्रममा गएको अनुभव सुनाउँदै यस्ता कार्यक्रमहरू परम्परागत र सामान्य प्रक्रिया भएको बताए। आगामी निर्वाचनका सन्दर्भमा पनि यस्ता विषयलाई लिएर भ्रम फैलाउन सक्ने सम्भावना रहेको भन्दै यस्ता विषयमा मिडियाले स्पष्ट सूचना दिनुपर्ने उनको भनाइ छ।
विश्लेषक विनोद त्रिपाठीले पनि सामाजिक सञ्जालमा लेख्दै अमेरिकी सेनाले टुँडिखेलमा परेड खेलेको भन्ने विषयमा गलत भ्रम फैलिएको बताएका छन्। उनका अनुसार, तथ्य नबुझी उग्र प्रतिक्रिया दिने प्रवृत्तिले देशको विकासमा अवरोध सिर्जना गर्ने गरेको छ।
उनले अमेरिकाले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा मान्यता दिलाउन र संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको ऐतिहासिक तथ्य स्मरण गराए। तथ्यहीन विरोधभन्दा यथार्थमा आधारित बहस आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, उनले नेपालभित्रको सांस्कृतिक र जनसाङ्ख्यिक प्रभावबारे पनि तथ्यमा आधारित छलफल हुनुपर्ने उल्लेख गर्दै भावनात्मक र आधारहीन आरोप-प्रत्यारोपले राष्ट्रिय हितलाई कमजोर पार्ने चेतावनी दिएका छन्।

नेपाली सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ। वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो। देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्र विन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल भएको छ।
सैनिक वीर पुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो। राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो। सेनामा अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र तथा एकताको भावना उच्च संस्कार रहिआएको छ। नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ। सैनिक सङ्गठनमा समावेशिता बढ्दै गएको छ। पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो। हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७४ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ७७ सैनिक घाइते भएका छन्। विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ।
विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्तर सहभागी हुनु यसकै पुष्टि हो।
सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम भइरहेको छ।
दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक-नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ।








