काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने कूल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्य समूह अन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार बाँकी १७ पदका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान देशका सातै प्रदेशमा तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा एकैसाथ सञ्चालन गरिने आयोगले जनाएको छ।
प्रदेशगत रूपमा मतदान स्थल निर्धारण गरिएको छ। कोशी प्रदेशमा मोरङको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुनेछ भने मधेश प्रदेशमा धनुषाको जनकपुर उपमहानगरपालिका-४ स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रलाई मतदान स्थल तोकिएको छ। बागमती प्रदेशका मतदाताले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान गर्नेछन्।
त्यसैगरी गण्डकी प्रदेशका लागि कास्कीको पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र तथा कर्णाली प्रदेशका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र रहनेछ। सुदूरपश्चिम प्रदेशका मतदाताले कैलालीको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। आयोगले तोकिएका मतदान स्थलमा समयमै उपस्थित भई मतदान प्रक्रियामा सहभागी हुन सम्बन्धित सबै मतदातालाई आग्रह गरेको छ।







