काठमाडौँ । नेकपा एमालेभित्र उम्मेदवार छनोटसम्बन्धी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर पार्टीका विभिन्न नेताबाट सार्वजनिक असहमति व्यक्त हुन थालेको छ।
अध्यक्ष ओलीले चुनावी जितको सम्भावना नदेखिएका आधारमा टिकट नदिइएको आशयको भनाइ सार्वजनिक गरेपछि त्यसप्रति योगेश भट्टराई, विन्दा पाण्डे र सुरेन्द्र पाण्डेसहितका नेताले आफ्नो असन्तोष व्यक्त गरेका छन्। यही क्रममा नेता गोकुल बाँस्कोटाले पनि उक्त भनाइप्रति प्रतिक्रिया जनाएका हुन्।
बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी निर्णय प्रक्रियामा लोकतान्त्रिक मूल्य र अभ्यासलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्। उनले स्वर्गीय मदन भण्डारीको अभिव्यक्ति उद्धृत गर्दै पूर्वाग्रह र प्रतिशोध लोकतान्त्रिक चरित्रसँग मेल नखाने तर्क प्रस्तुत गरेका छन्।
पार्टी अध्यक्षको अभिव्यक्तिपछि निरन्तर रूपमा आएका यस्ता प्रतिक्रियाले एमालेभित्र टिकट वितरण र आन्तरिक निर्णय प्रक्रियालाई लिएर बहस सतहमा आएको देखिएको छ।







