काठमाडौँ । प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचन तर्फ उम्मेदवारी दर्ताको क्रम जारी छ। निर्वाचन आयोगका अनुसार, आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १२ सय १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारमध्ये ६५९ जनाको उम्मेदवारी दर्ता पुष्टि भइसकेको छ भने ५५५ जनाको दर्ता प्रक्रिया अझै बाँकी छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ।
प्रतिनिधि सभा २७५ सदस्यीय रहेको छ, जसमा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन्। समानुपातिक तर्फको उम्मेदवारी दर्ता गत पुस १३ र १४ गते सम्पन्न भइसकेको थियो।
निर्वाचन आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको लागि सबै निर्वाचन क्षेत्रमा अधिकृत खटाइसकेको छ भने सोमबारदेखि निर्वाचन आचारसंहिता पनि लागू भइसकेको छ।







