काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले नेता महेश बर्तौलाका अनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छैन । बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको छ ।
एमालेको ११ औँ महाधिवेशन २७ देखि २९ मंसिरसम्म काठमाडौँमा सुरु हुँदै छ । जसमा एमालेले नेपालकै विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ ।
महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको उनले जानकारी दिए । बर्तौलाका अनुसार लाखौँको संख्यामा नेता/कार्यकर्ताहरू महाधिवेशनका लागि काठमाडौँ आउने क्रम जारी रहेको बताए ।
महाधिवेशनमा १ सय ८ जना मनोनीतसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने उनले बताए ।
बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल समापन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिने निर्णय पनि गरेको छ ।







