एएफपी । हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलंका भरि करिब ८५ प्रतिशत विद्युत् आपूर्ति बन्द भएको श्रीलंका सिलोन विद्युत् बोर्ड (सिइबी) ले जनाएको छ ।
सिइबीका उप-महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत् उपभोक्तामध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको हो । उनले अधिकांश विद्युत् जडान पुन:स्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए ।
सिइबीका अनुसार आपत्कालीन अवस्थाका क्रममा १६ हजार ७७१ ट्रान्सफर्मर सेवा बाहिरिएका थिए । त्यसमध्ये १४ हजार ५४९ ट्रान्सफर्मर मर्मत तथा पुनर्स्थापना भइसकेको र बाँकी उपकरणलाई यथाशीघ्र सञ्चालनमा ल्याइने तयारी भइरहेको सिइबीले जनाएको छ ।







