काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिएकी छन् ।
बाइसौँ ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित समारोहमा उनले ज्यापू समाजको पहिचान र अस्तित्वको संरक्षण एवं प्रवर्द्धन सरकारको दायित्व भएको स्मरण गराइन् । यस दिवसले ज्यापूहरूको मेहनत, माटो र सांस्कृतिक पहिचान दर्साइरहेको उनको भनाइ छ ।
“य:मरि केवल परिकार होइन, हाम्रो समृद्धि, उब्जनी र परिवारको एकताको प्रतीक हो”, समारोहमा शुभकामना व्यक्त गर्दै उपप्रमुख डंगोल भनिन्, “ज्यापू दिवस र यस पर्व परम्परा मात्र होइन हाम्रो पहिचान हो । विभिन्न जात्रा र पर्वहरूलाई परम्परा मात्र होइन अस्तित्वका रुपमा लिनुपर्छ ।” उनले नयाँ धान घरभित्र भित्र्याई बनाइने परिकार य:मरिको सांस्कृतिक र सामाजिक पक्षबारे चर्चा गरिन् । य:मरि पुन्हि र ज्यापू दिवस माटोसँगको प्रतिज्ञा र भूमिप्रति सम्मान प्रकट गर्ने अवसर भएको उपप्रमुख डंगोलले बताइन् । यस चाडका सांस्कृतिक महत्वसँगै दार्शनिक मूल्यलाई उजागर गर्नुपर्नेमा उनको जोड थियो ।
कोषका अध्यक्ष मंगलकृष्ण सिंहले नेपालमा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने धेरै सांस्कृतिक सम्पदाहरू रहेको उल्लेख गर्दै तिनको संरक्षणमा मौलिक संगीत, चाडपर्व र परम्परागत पूजा विधिले महत्वपूर्ण भूमिका खेलेको बताए ।







