काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारविरुद्ध भड्किएको आन्दोलनले सोमबार सुनसरीस्थित इटहरी उपमहानगरपालिकामा ठूलो क्षति पुर्याएको छ । आन्दोलनकारीहरूले पालिका परिसरमा प्रवेश गरी तोडफोडसँगै कार्यालयका विभिन्न शाखामा आगजनी गरेका छन् ।
प्रहरीले आन्दोलनकारीलाई लक्षित गर्दै हवाई फायर गरे लगत्तै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको पालिकाले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरीले जनताको सम्पत्ति नष्ट हुनु दुःखद भएको बताइन् । उनले यसरी पालिकाको भवनमा आगो लगाउनु कुनै हालतमा उचित नभएको उल्लेख गर्दै अहिले कार्यालयभित्र रहेका कुनै पनि सामग्री प्रयोगयोग्य नरहेको जनाइन् ।
उनका अनुसार आन्दोलनकारीले पहिले भवनमा तोडफोड गरेका थिए र त्यसपछि आगो लगाइदिएका थिए । चौधरीले यस्तो घटनाले नागरिक सेवामा थप समस्या उत्पन्न गर्ने भन्दै शान्तिपूर्ण माध्यमबाट असन्तुष्टि प्रकट गर्न सबैलाई आग्रह गरिन् ।







