सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा कर्मचारीमाथि भएको कुटपिट घटनापछि कर्मचारीहरू आक्रोशित भएका छन्। कर्मचारीहरूले दोषीमाथि कारवाहीको माग गर्दै कामकाज ठप्प पारेका छन् र न्याय नपाएसम्म कार्यालय नफर्किने चेतावनी दिएका छन्।
असार २५ गते राती नगरपालिकाका कर्मचारीमाथि भएको कुटपिटमा संलग्न व्यक्तिहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय, सप्तरीमा किटानी जाहेरी दर्ता गरिनुपर्ने कर्मचारीहरूको माग छ। उनीहरूले नगरप्रमुखसहित जनप्रतिनिधि र प्रशासनिक तहबाट पहल गरी जाहेरी दर्ता नगराएसम्म काममा नफर्किने स्पष्ट पारेका छन्।
शम्भुनाथ नगरपालिका कर्मचारी हकहित समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै किटानी जाहेरी दर्ता भए पछि मात्र हामी सम्पूर्ण कर्मचारीहरू आ-आफ्नो कामकाजमा फर्किने बताएका छन् ।

यसैबीच, उक्त कुटपिट घटनामा दोषीमाथि कारवाहीको माग गर्दै विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले पनि कर्मचारी आन्दोलनलाई समर्थन जनाएका छन्। नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) का पदाधिकारीहरूले कर्मचारीहरूसँग ऐक्यबद्धता जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

शम्भुनाथ नगरपालिका हाल बन्दजस्तै भएको छ भने सेवाग्राहीहरू पनि समस्यामा परेका छन्। नगरपालिका र प्रहरी प्रशासनले भने विवाद समाधानका लागि छलफल जारी रहेको जनाएको छ।







