काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको गठबन्धनले राजनीतिक स्थिरता भए पनि नागरिकहरूले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताएका छन ।
नेपाली काँग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरू आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताएका हुन्।
उनले भने, “सत्तामा रहेका राजनीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।”
उनले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकांक्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।”







