काठमाडौँ। सहकारीका लागि छुट्टै कर्जा असुली न्यायाधिकरण स्थापना गरिएको छ ।
बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नयाँ बानेश्वरमा कर्जा असुली न्यायाधिकरणको कार्यालय उद्घाटन गरेका हुन् ।
कर्जा असुली न्यायाधिकरण कार्यालयको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारीसम्बन्धी पर्याप्त ऐन/कानुन र नीति भए पनि कार्यान्वयनको विषयमा केही कमीकमजोरी भएको स्वीकार गर्दै अधिकांश सहकारीको समस्या समाधान गर्ने क्रममा सरकार रहेको बताए ।
उनले सहकारी क्षेत्रमा देखिएका समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । कर्जा असुली न्यायाधिकरण नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीमा विकराल स्थिति रहेकाले न्यायाधिकरणमा ऋण नउठेका मुद्दाको चाप सुरुवातमा अत्याधिक हुने आँकलन गरिएको सुनाए । सहकारीले उठाउन नसकेको ऋण उठाउने काम कठिन भए पनि त्यसमा आफूहरूले हर प्रयास गर्ने समेत जनाए ।
सरकारले केही दिन अगाडी मात्रै सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेतको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन गरेको थियो । जसको सदस्यमा धनकुटाका वसन्तराज पुरी र तनहुँका गोविन्द शर्मा नियुक्त भएका छन् ।







