सिंहदरबार । आफु बस्न लायकको ठीक्कको दरबार बनाउन चाहेका राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाउँदा बनाउँदा भव्य दरबार निर्माण गराए । २९ वर्षे शासनकालमा २८ वर्ष सिँहदरबारमै बिताएका चन्द्रशमशेरको १९८६ मंसिर ३० गते यसै सिँहदरबारबाट सदाका लागि बिदा लिए ।
चन्द्रशमशेरपछि टंगालदरबारबाट सिँहदरबारमा सरेका भीम शमशेरको पनि १९८९ भाद्र ११ गते यसै सिँहदरबारमा मृत्यु भयो । यसपछि जावलाखेल दरबारबाट जुद्ध शमशेर आए । दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री र गंगालालको मुद्धाको सुनुवाइका लागि गठीत विशेष अदालतले यसै दरबारबाट मृत्युदण्डको सजाए तोकेको थियो ।
२००९ फागुन ७ गतेपछि तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा आएपछि २००५ बैसाख १ मा सिँहदरबार बसाइ सरेका मोहन शमशेर महाराजगंजस्थित लक्ष्मी निवास सरे । र, लामो इतिहास बोकेको ऐतिहासिक भवन सरकारको सचिवालयमा परिणत भयो ।
निर्माण कार्य शुरु भएको एक वर्ष भित्र नै पुरा भएको १ हजार ७ सय कोठाहरु रहेको एसिया भरिको ठूलो दरबारका रुपमा कहलिएको सिँहदरबार यतिबेलासम्म आइपुग्दा भिल्लका देशमा मणी जस्तै बन्न पुगेको छ । युरोपेली शैलीमा निर्मित नेपाली सान र चिनारीका रुपमा रहेको यो भवन अहिले आधुनिक शासकको नजरबन्दमा परेको छ ।
२०७२ भूकम्पछि थला परेको यो भवनमा पुनर्निर्माणको जिम्मा बोकेको महत्वपूर्ण निकाय पुनर्निर्माण प्राधिकरणको कार्यालयदेखि केही मन्त्रालयहरुसमेत अझै बसिरहेका छन् । कहिले भत्काउने, कहिले यथावत राख्ने त कहिले बनाउने नाममा अनिश्चितताको बन्दी बनाइएको भवन के हुने भन्ने बारे ठोस निर्णय कसैसँग छैन । तर, कतै भागि पो हाल्छ कि भनेर झैं मोटा मोटा फलामे डण्डीले घेरेर राखेको चाहिँ अझै छ ।
सायद गाउँ गाउँमा सिँहदरबारेको अभियानले छायाँ पो पारेको हो कि ऐतिहासिक सिँहदरबारलाई ?