काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज सम्पन्न भएको छ। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको उक्त सैनिक अभ्यास आज सम्पन्न भएको हो।
एक विशेष कार्यक्रमका बीच अभ्यासको समापन गर्दै बलाध्यक्ष रथी प्रदिपजंग केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे। उनले अभ्यासका क्रममा दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको बताए।
संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङद्वारा अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास पर्यवेक्षक समूहका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रवीणले मन्तव्य राखेका थिए।
विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायत विषय समावेश गरी अभ्यास सञ्चालन भएको नेपाली सेनाले जनाएको छ।
अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका छ सय ६८ सैनिकहरू सहभागी भएका थिए।
विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यस अभ्यासले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनाका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारी अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ।







