काठमाडौँ । क्वान्टम भौतिक शास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन् । नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
‘योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्व लिन सक्छ’, कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ । यी दुवै विषय स्वर्ण युगका उच्चतम प्रविधि हुन् । यी भन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन ।’
योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो । ५० वर्षअघि नेपाल आएका महर्षि महेश योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए । सोही विषयलाई थप प्रकाश पार्दै डा. हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए । उनका अनुसार विश्वको नेतृत्व लिने नेपालका दुई वटा रणनीति योग र यज्ञ भएको उल्लेख गरे ।







