काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६५ निर्वाचन क्षेत्रको अपनत्व ग्रहण गर्ने गरी आवश्यकताका आधारमा सरकारले बजेट तर्जुमा गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले मुलुकलाई सन्तुलित विकासको आवश्यकता रहेको भन्दै त्यहीअनुसार बजेटको व्यवस्था गर्न जरुरी रहेको बताएका हुन्।
उनले पूर्वाधारको व्यापक विकास अहिलेको आवश्यकता भएको दाबी गरे। आइटी नयाँ क्षेत्र र सरकारले सोचेको भन्दा बढी आम्दानी र रोजगारी दिने भएकाले सरकारले आइटीलाई प्राथमिकताका साथ उल्लेख गर्नुपर्ने बताए। बजेटमा योजना समावेश हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य गर्न पनि उनले आग्रह गरे।
समिति सभापति सन्तोष चालिसेले सरकारले भन्सारमा हुने चोरी पैठारी रोक्न आवश्यक रहेको औँल्याए।