काठमाडौँ । विशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नम्बर-७ का अध्यक्ष भीमबहादुर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
विशेषका न्यायाधीशहरू अध्यक्ष डा. खुसीप्रसाद थारु तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनी र यादवविरुद्धको कसुर ठहर हुने फैसला गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ११ मा मरासिनी र यादवले नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरिदिए बापत सेवाग्राहीबाट ५० हजार घुस मागी विनोद भरलाई बुझ्न लगाएको भन्दै मुद्दा दायर गरेको थियो ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत मरासिनी घुससहित प्रकाउ
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
उक्त मुद्दामा कसुर ठहर गरी मरासिनीलाई ५० हजार जरिबाना र तीन महिना कैद तथा वडाध्यक्ष यादव र भरलाई समान ४५ दिन कैद र २५ हजार जरिबाना हुने फैसला भएको प्रवक्ता कार्कीले जनाएका छन् ।