काठमाडौँ । अज्ञात रोगले छात्रा बिरामी पर्न थालेपछि दार्चुलाको एक विद्यालय बन्द गरिएको छ।
अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द छ।
विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालका अनुसार छात्राको स्वास्थ्य अवस्थामा सुधार भए साउन १७ गतेदेखि विद्यालयको पठनपाठन सुचारू गरिनेछ।
विद्यालय बन्द भएपछि साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
छात्राको स्वास्थ्य अवस्थाबारे बुझ्ने काम भइरहेको विद्यालय प्राधानाध्यापक लोथ्यालले जानकारी दिए।







