कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत


३ श्रावण २०७९, मंगलबार


दमौली । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ ।

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो ।

कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणा पत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको अधिकारीले बताए ।

कार्यालयले जिल्लाका १० वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । उनका अनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै राहत रकम वितरण गरिएको छ ।

‘कार्यविधिअनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र आर्थिक सहायता दिइएको छ, होम आइसोलेसनमा मृत्यु भएकाले रकम पाउँदैनन्’, उनले भने ।

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान थियो ।

आर्थिक राहत लिनका लागि १६९ परिवारले निवेदन दिए पनि अन्यको कागजात नमिलेका कारण राहत प्रदान गर्न नसकिएको कार्यालयले जनाएको छ ।

‘कागजात नमिलेका कारण अन्यलाई राहत दिन सकेका छैनौँ, तनहुँ ठेगाना भई एक विदेशमा मृत्यु भएका परिवार र प्रक्रिया पुगेका दुईलाई पनि राहत रकम वितरण गर्न बाँकी छ’, अधिकारीले भने ।

प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिए पनि जिल्लाका पालिकाले पनि राहत रकम वितरण गरेका थिए ।

विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए ।

तनहुँमा कोभिड–१९ बाट ६४ महिला र ९७ पुरुषसहित १६१ को मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस