काठमाडौँ । नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरूले प्रहरी समक्ष माग गरेका छन्।
एक सय भन्दा धेरै लोक दोहोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन्।
सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गर्दै कलाकारहरू बालाजु प्रहरी वृत्तमा पुगेका हुन्। जाहेरीपछि अनुसन्धान अघि बढ्ने बालाजु वृत्तले जनाएको छ।
दिलमाया सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् । प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत उनी उत्कृष्ट भएकी थिइन् ।
शुक्रबार राति साढे एक बजेतिर दिलमायाको फेसबुकबाट सुसाइड नोटजस्तो लाग्ने स्ट्याटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।
प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहानै सूर्य दिलमायाको कोठामा पुगेको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।