काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा करिब २२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
उपमेयर सुनिता डङ्गोलले आज (शुक्रबार) आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा चालु आर्थिक वर्षको ११ महिनामा महानगरले ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ मात्रै खर्च गरेको जानकारी दिइन् ।
जुन कुल विनियोजनको २१।६३ प्रतिशत मात्रै हो । महानगरले चालु आर्थिक वर्षका लागि १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये पुँजीगत एवं पूर्वाधार तर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार र वित्तीयतर्फ १८ करोड खर्च भएको छ ।
महानगरपालिकाले मसान्तसम्ममा आन्तरिक श्रोतबाट ३ अर्ब ९९ करोड २६ लाख ५१ हजार ९ सय २८ आम्दानी गरेको छ भने बाह्य आम्दानीतर्फ ४ अर्ब ८१ करोड २३ लाख ३९ हजार ८ सय ७० आम्दानी गरेको छ ।