काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवती कोठामै मृत अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी सुदिप गिरीका अनुसार हिजो (बिहीबार) राती सङ्खुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घर भई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ ।
बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच के र कसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।
‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ गिरीले भने ।
घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । घटनास्थलबाट धारिलो हतियार बरामद गरेको जनाएको छ ।