वर्षाबाट पीडित किसानलाई साढे ५ अर्ब राहत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वर्षाबाट पीडित किसानलाई साढे ५ अर्ब राहत


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । बेमौसमी वर्षाबाट पीडित किसानलाई सरकारले साढे ५ अर्ब रुपैयाँ बराबर राहत दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले हिजो (बिहीबार) किसानको वर्गीकरण गरी पूर्ण र आंशिक क्षतिका आधारमा राहत दिने निर्णय गरेको हो ।

१ लाख ९१ हजार हेक्टरमा लगाइएको धानमा राहत दिइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

‘उक्त क्षेत्रफलका लागि ५ अर्ब ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ,’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने । मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले पूर्ण क्षतिको हकमा साना किसान (१० कट्ठासम्म) लाई उत्पादन लागतको ६५ प्रतिशत राहत दिने बताएको छ । प्रतिकट्ठा १ हजार ९ सय २१ रुपैयाँका दरले प्रतिबिघामा ३८ हजार ४ सय २० रुपैयाँ राहत व्यवस्था गरेको छ ।

मझौला किसान अर्थात् ११ देखि ४० कट्ठासम्म धानबाली लगाउने किसानलाई उत्पादन लागतको ३९ प्रतिशत राहतको व्यवस्था गरेको जनाइएको छ । प्रतिकट्ठा ८ सय ८७ रुपैयाँका दरले प्रतिबिघा १७ हजार ७ सय ४० रुपैयाँ राहत दिइनेछ ।

४१ भन्दा बढी कट्ठामा धानबाली लगाउने ठुला किसानलाई अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने सरकारको निर्णय छ । प्रतिकट्ठा ५ सय ९१ रुपैयाँका दरले प्रतिबिघा ११ हजार ८ सय २० रुपैयाँ राहत दिइनेछ ।

आंशिक क्षतिको हकमा सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत राहत दिइनेछ । यस्तो क्षतिमा प्रतिकट्ठा ५ सय ९१ रुपैयाँका दरले प्रतिबिघा ११ हजार ८ सय २० रुपैयाँ दिइनेछ ।

राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ ।

कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्ने सञ्चारमन्त्री कार्कीले जानकारी दिए । सरकारले यसअघि धानबालीमा भएको क्षतिको विवरण यकिन गर्न गृह सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कृषि मन्त्रालयले पनि ७ वटै प्रदेशमा टोली खटाएको छ । मन्त्रालयको पछिल्लो विवरणअनुसार मुलुकभर ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँको धान क्षति भएको छ ।

सात प्रदेशमा १ लाख ९२ हजार ३ सय ९४ हेक्टर प्रभावितमध्ये १ लाख ११ हजार ६ सय ९ हेक्टरमा क्षति पुगेको छ । उक्त क्षेत्रफलबाट ४ लाख २४ हजार १ सय १३ टन धानमा क्षति पुगेको विवरण छ ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँको धान क्षति भएको बताइएको छ । दोस्रोमा सुदूरपश्चिममा ३ अर्ब ८७ करोडको धान क्षति भएको छ । तेस्रोमा प्रदेश २ मा १ अर्ब ६१ करोड रुपैयाँको धान क्षति पुगेको छ । प्रदेश १ मा भने १ अर्ब ३९ करोडको धान क्षति भएको छ ।

कर्णालीमा २९ करोडको धानबाली क्षति भएको छ । कर्णालीमा डोल्पा, जुम्ला, सल्यान, सुर्खेतमा पनि क्षति पुगेको छ । गण्डकीमा १२ करोड र वाग्मतीमा ५ करोड रुपैयाँको क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस