काठमाडौँ । काँग्रेस महामन्त्री शशाङ्क कोइराला निजी भ्रमणमा दिल्ली पुगेका छन् । मुम्बई हुँदै उनी दिल्ली पुगेका हुन् ।
कोइराला पार्टीका केही नेताका साथ गत शनिबार मुम्बई गएका थिए । त्यहाँ उनले क्यान्सरको उपचार गराइरहेका काँग्रेस सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझेका थिए ।
त्यहाँबाट दिल्ली आइपुगेका उनले हिजो (मंगलबार) नेता प्रदीप गिरिलाई भेटेका छन् । काँग्रेस नेता गिरि तीन महिनादेखि दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका छन् ।
कोइरालाले भारतमा उपचाररत दुई नेताको स्वास्थ्य जानकारी लिन र उनीहरूलाई भेट्न मात्रै यता आएको बताए । उनले मंगलबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भने भेटेका छन् ।
कोइरालाका साथमा काँग्रेस नेता दीपक गिरी, दीपक खड्का, लमजुङ मध्य नेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, निजी सचिव भरत तिवारी छन् ।