काठमाडौँ । तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका परराष्ट्र मन्त्री शिशिर खनालले भारतसँग भएका उच्चस्तरीय भेटवार्ता र छलफलका विषयमा विस्तृत जानकारी दिएका छन्।
भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भारत पुगेका मन्त्री खनालले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलसँग भएको बैठकपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई ब्रिफिङ गरेका हुन्।
उनका अनुसार दुई देशबीचको सम्बन्धका समग्र आयाममा केन्द्रित रहेर व्यापक र सकारात्मक छलफल भएको छ। विशेष गरी व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरीय सम्बन्ध विस्तारजस्ता विषयमा ठोस प्रगति केन्द्रित वार्ता भएको उनले बताए।
दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा पनि विचार आदानप्रदान भएको जानकारी दिए।
मन्त्री खनालका अनुसार विद्यमान परियोजना र सहकार्यका पहलहरूको प्रगति समीक्षा गर्दै तिनलाई थप प्रभावकारी बनाउने उपायबारे समेत छलफल गरिएको छ।
भ्रमणका क्रममा तीन महत्वपूर्ण समझदारी तथा घोषणा भएका छन्। पहिलो, सन् २०३० मा हस्ताक्षर गरिएको एनसीएचएल र एनपीसीआईबीचको सम्झौताअनुसार क्रस-बोर्डर डिजिटल भुक्तानी (पीटूपी) सञ्चालनमा सहमति भएको छ, जसले नेपाल-भारतबीच रेमिट्यान्स आदानप्रदानलाई सहज बनाउनेछ।
दोस्रो, भारतको विकास सहयोगमा नेपालमा भूकम्पपछि पुनर्निर्माण गरिएका परियोजनाहरूको भर्चुअल हस्तान्तरण गरिएको छ।
तेस्रो, डिजिटल पूर्वाधार अन्तर्गत भाषा अनुवाद प्लेटफर्म विकासका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर तथा आर्टिफिसियल इन्टेलिजेन्स केन्द्र र डिजिटल इन्डिया बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।







