काठमाडौँ। विभिन्न विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका प्राध्यापकहरूसँग विश्वविद्यालयको वर्तमान अवस्था र सञ्चालन योजनाबारे छलफल सम्पन्न भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहकुलपति समेत रहेका मन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको उक्त अन्तरक्रियामा विश्वविद्यालयको शैक्षिक गतिविधि र प्रशासनिक कामकाजलाई निरन्तरता दिन आवश्यक रणनीतिबारे सम्बन्धित पदाधिकारीहरूले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका नियमित परीक्षा, प्रशासनिक कार्य र दैनिक सञ्चालन प्रभावित हुन नदिन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिँदै दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय तत्काल नगर्न आग्रह गरे ।
हाल विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति पद पूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ । आठ विश्वविद्यालयका लागि सिफारिस समिति गठन भई आवेदन प्रक्रिया सम्पन्न भइसकेको तथा छनोट चरणमा प्रवेश गरेको मन्त्रालयले जनाएको छ । अन्य विश्वविद्यालयहरूमा पनि क्रमशः प्रक्रिया अघि बढाइने तयारी छ ।
सरकारले रिक्त रहेका आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोही आधारमा छनोट प्रक्रिया अघि बढाएको छ ।
पारदर्शिता, योग्यता प्रणाली र निष्पक्षतालाई सुनिश्चित गर्ने उद्देश्यसहित “विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” लागू गरिएको छ, जसअनुसार विज्ञ समितिमार्फत उपकुलपति छनोट प्रक्रिया अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।







