काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)माथि संसद् र संवैधानिक व्यवस्थाप्रति असम्मानजनक व्यवहार गरेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा पार्टीका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको अभ्यास संसदीय लोकतान्त्रिक प्रणाली अनुकूल छ वा छैन भन्ने विषयमा सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको बताए ।
उनले नेपालको संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको उल्लेख गर्दै सरकार संविधानको मूल मर्मअनुसार अघि बढ्नुपर्ने धारणा राखे ।
महरले प्रधानमन्त्री शाहले पटक-पटक संसद्को भूमिकालाई बेवास्ता गरेको तथा संसदीय संस्थाप्रति सम्मानजनक व्यवहार नगरेको आरोप लगाए । उनले लोकतान्त्रिक अभ्यासभन्दा फरक ढंगको राजनीतिक शैली विकास गर्न खोजिएको भन्ने जनस्तरमा चासो र बहस बढ्दै गएको पनि बताए ।
उनका अनुसार वर्तमान सरकारले संविधानले परिकल्पना गरेको शासन प्रणालीलाई नै अनुसरण गरिरहेको हो वा वैकल्पिक राजनीतिक अभ्यासतर्फ उन्मुख भएको हो भन्ने प्रश्न उठेको छ ।
एमालेले प्रधानमन्त्री शाहले लोकतान्त्रिक प्रणालीभन्दा ‘बालेनतन्त्र’ उन्मुख अभ्यास गर्न खोजेको आरोपसमेत लगाएको छ ।







