काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाँकेमा रहेका बाल सुधार गृहहरूको स्थलगत निरीक्षण गर्दै त्यहाँ रहेका बालबालिकाको अवस्था, आवश्यकता र चुनौतीबारे जानकारी लिएकी छन्।
मन्त्रालयका अनुसार पश्चिम नेपाल भ्रमणका क्रममा मन्त्री बादीले बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह तथा डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृहको अनुगमन गरेकी हुन्।
नौबस्ता सुधार गृहमा पुगेकी मन्त्री बादीले आवासीय कोठा, खानपिन, ओछ्यान, शौचालय, सुरक्षा व्यवस्था तथा उपलब्ध सेवा सुविधाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको सुधार गृहका प्रमुख श्यामबहादुर रानाले बताएका छन्।
अनुगमनका क्रममा मन्त्रीले बाल बन्दीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या र आवश्यकताबारे छलफल गरेकी थिइन्। साथै सुधार गृहमा रहेका बालबालिकालाई लक्षित गरी सिपमूलक तालिम सञ्चालन गर्ने योजना रहेको जानकारीसमेत उनले दिएकी छन्।
बालबालिकालाई रचनात्मक तथा व्यस्त गतिविधिमा संलग्न गराउन सके सुधार प्रक्रियामा सकारात्मक प्रभाव पर्ने धारणा मन्त्री बादीले राखेको सुधारगृह प्रशासनले जनाएको छ।
यसैबीच गत भदौ २४ गते जेन जेड आन्दोलनको क्रममा नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बाल बन्दीमध्ये ३३ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। फरार बाल बन्दीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।







