काठमाडौँ । नेपाली काँग्रेसभित्र संगठनात्मक सहमति र एकताको वातावरण कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै शेरबहादुर देउवा पक्षीय बागमती प्रदेशस्तरीय भेलाले पार्टी नेतृत्वसमक्ष विभिन्न माग अघि सारेको छ।
काठमाडौँमा सम्पन्न भेलाबाट जारी ९ बुँदे निष्कर्षमा आगामी १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सबै पक्षले स्वीकार गर्ने ढंगले सम्पन्न गर्न सहमतिमा आधारित साझा संयन्त्र गठन गर्नुपर्ने उल्लेख गरिएको छ।
भेलाले पार्टी विधान संशोधन प्रक्रियालाई पनि विवादको विषय बनाउँदै समूहगत सहमति र संस्थागत प्रक्रियाविनाको संशोधन स्वीकार्य नहुने स्पष्ट पारेको छ।
निष्कर्ष पत्रमा पार्टीभित्र रहेका विभिन्न विचार समूहबीच पर्याप्त परामर्श नगरी प्रतिनिधित्वको नाममा केन्द्रीय समितिमा गरिएको मनोनयनले संगठनात्मक एकतामा नकारात्मक असर परेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले पार्टीभित्र अविश्वास र विभाजनको वातावरण सिर्जना गरेको भन्दै संवाद, सहमति र सहकार्यका आधारमा बृहत्तर एकता कायम गर्न आवश्यक रहेको भेलाको धारणा छ।
भेलाले पार्टीको पूर्ण महासमिति बैठक तत्काल बोलाउन नेतृत्वसँग माग गरेको छ। साथै जिल्ला तहमा निर्वाचनका क्रममा असहयोग गरेको आरोप लगाउँदै केही कार्यकर्तामाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइएकोप्रति पनि आपत्ति जनाइएको छ।
देउवा पक्षले वास्तविक परिस्थितिको मूल्यांकन नगरी गरिएको कारबाहीले संगठनभित्र थप असन्तुष्टि बढ्न सक्ने भन्दै त्यसप्रति पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।







