काठमाडौँ। सरकारले सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत जुम्लाबाट एक महिलाको उद्धार गरिएको छ।
जुम्ला जिल्लाको सिँजा गाउँपालिका-१ निवासी एक गर्भवती महिलामा जटिल प्रसूति समस्या देखिएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याइएको हो।

स्वास्थ्य अवस्थाको गम्भीरता मुल्याकंन गर्दै तत्काल उद्धार आवश्यक ठहरिएपछि वैशाख १२ गते शुक्रबार हवाई उद्धार गरिएको जनाइएको छ। दुर्गम क्षेत्रमा समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन हुने अवस्थामा यस्तो उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको अधिकारीहरूले बताएका छन्।
सरकारले दुर्गम तथा पहुँचबाहिरका क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिममा पर्न नदिन आपत्कालीन हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममार्फत हालसम्म विभिन्न जिल्लाबाट जोखिममा परेका महिलाहरूलाई सुरक्षित रूपमा सुविधा सम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याउने कार्य हुँदै आएको छ।







