काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सचिव पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली अनुभव प्रमाणपत्र पेश गरिएको उजुरीका आधारमा आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको हो ।
उक्त उजुरी अनुसार, कम्पनी सचिव पदमा नियुक्ति हुन आवश्यक कानुनी योग्यता नपुगेको प्रतिवादी राजेश पोख्रेलले आफ्नो अनुभव प्रमाणित गर्न गर्जाङ उपत्यका हाईड्रो पावर लिमिटेडको वरिष्ठ अधिकृत तहमा कार्य गरेको झूठा विवरण प्रस्तुत गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
न्यौपानेका अनुसार अनुसन्धानका क्रममा प्रतिवादीले सोही कम्पनीबाट अनुभवको प्रमाणपत्र प्रस्तुत गरेको देखिएको छ । तर उजुरीमा उल्लेख अनुसार कम्पनीको कार्यालयबाट प्राप्त पत्र तथा रेकर्डले उक्त अनुभव पुष्टि नगरेको तथ्य पाइएको छ।
यो मुद्दा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।
अख्तियारले प्रतिवादीको नियुक्ति मिति २०७३-११-१० देखि २०८२-०९-२० सम्मको सेवा करार अवधि र सेवा अवधिभर प्राप्त एक करोड सात लाख एक हजार पाँच सय चौरासी रुपैयाँ सतहत्तर पैसा लाभ र सुविधा सम्बन्धी तथ्य समेत उजुरीमा उल्लेख भएको जनाएको छ।








