काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमततर्फ अग्रसर देखिएपछि पार्टीका प्रवक्ता मनिष झाले जनताबाट ठूलो अपेक्षासहितको जिम्मेवारी प्राप्त भएको बताएका छन्।
निर्वाचनपछि सार्वजनिक प्रतिक्रियामा उनले मत परिणामलाई परिवर्तनको अपेक्षासहित आएको जनादेशका रूपमा व्याख्या गर्दै आगामी दिनमा थप परिश्रम आवश्यक पर्ने उल्लेख गरे। देशमा सकारात्मक परिणामसहितको रूपान्तरण ल्याउनु नै पार्टीको मूल उद्देश्य रहेको उनको भनाइ छ।
झाले राजनीतिक नेतृत्वले परम्परागत शैलीभन्दा फरक ढंगले काम गर्दै ‘नेता’ भन्दा ‘सहजकर्ता’को भूमिकामा रहेर जनताको अपेक्षा पूरा गर्नुपर्ने धारणा व्यक्त गरे। उनले मतदाताले पार्टीप्रति ठूलो भरोसा राखेको उल्लेख गर्दै त्यसलाई जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्ने बताए।
यसैबीच उनले पार्टीका कार्यकर्ता र समर्थकलाई संयमित, सभ्य र अनुशासित व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्। लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी अन्य दल तथा उम्मेदवारप्रति सम्मान कायम राख्दै अघि बढ्नुपर्ने उनको धारणा छ।
झाका अनुसार देशमा विद्यमान भ्रष्टाचार, गरिबी र कुशासन नै मुख्य चुनौती भएकाले ती समस्यासँग लड्नु नै पार्टीको प्राथमिक लक्ष्य हुने उनले स्पष्ट पारे।







