काठमाडौँ । इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्रीलकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले हराएका छन।
यससँगै इङ्ल्यान्ड जारी विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको छ । सुपर आठमा लगातार दोस्रो जित निकालेको इङ्ल्यान्ड समूह दुईमा चार अंक जोड्दै शीर्षस्थानमा छ ।
न्युजिल्यान्ड र पाकिस्तानले एक एक अंक बनाएको छ । श्रीलंकले अंकको खाता खोल्न सकेको छैन । समूह चरणमा इङ्ल्यान्डले नेपाल रहेको समूह ‘सी’ बाट प्रतिस्पर्धा गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाए ।
बाबर आजम र फकर जमानले समान २५, २५ र शादब खानले २३ रन बनाए । बलिङमा इङ्ल्यान्डका लियाम सनले तीन विकेट लिए। यस्तै जेमी ओभरटन र जोफ्रा आर्चरले दुई दुई तथा आदिल रसिदले एक विकेट लिए।
जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले शतकीय इनिङ्स खेले । उनले ५१ बलमा १० चौका र चार छक्कासहित एक सय रन बनाए ।
यस्तै विल ज्याक्सले २८ र साम करनले १६ रन बनाए । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले चार तथा मोहम्मद नवाज र उसमान तारिकले दुई-दुई विकेट लिए ।







