काठमाडौँ । मंगलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज सकुशल उद्धार गरेको छ । खड्क नगरपालिका-८ बिसनपुरकी सात वर्षीया आँसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
अपहरण गरी फिरौती माग्ने खड्क-९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजलाई रुपनी गाउँपालिका-१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबा इमरान खानलाई फोन गरी रु. एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर रुपनी-१ स्थित खाँडो खोलामा बोलाएका थिए ।
यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।







