काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारको हिसाबले सबैभन्दा नयाँ पार्टी नेकपा नै भएको दाबी गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय, सबैको अधिकार र पहिचान स्थापित गर्ने पार्टी नेकपा नै भएको उनले बताए ।
निर्वाचनको बेलामा मतदातालाई लिएर जाने, सुरक्षित ढंगले मतदान केन्द्रसम्म पुर्याउने, मतलाई मतपेटिकामा हाल्ने र मतपेटिकाबाट निर्वाचन परिणाम नहुँदासम्म सतर्कता अपनाउन पार्टी पङ्क्तिलाई उनले निर्देशन दिए ।
उनले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको बन्ने सम्भावना रहेको बताए ।
दाहालले थपे, ‘यो मैले कुनै भावनामा आएर भनेको होइन । हामी देशभरि घुम्दाखेरि जनताको तहमा जे स्थिति बन्दै गएको छ, त्यसलाई हेर्दा र मैले विपक्षीहरूका पनि कुरा सुन्दा, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका सर्भेहरूको रिपोर्टहरू हेर्दा हामी पहिलो पार्टी बन्दै छौँ । त्यसका लागि यो २३-२४ दिन युद्ध स्तरमा हामी खट्नुपर्छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले सामाजिक सञ्जालमा भएको प्रचारबाजी अनुसार फिल्डमा नभएको टिप्पणी गरेका छन् ।







