काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दीर्घकालीन विकास, आर्थिक उन्नति र सामाजिक न्याय सुनिश्चित गर्न राजनीतिक स्थायित्व अपरिहार्य रहेको स्पष्ट पारेका छन्।
आइतबार काठमाडौँमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत वर्ष समारोह तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको उद्घाटन सत्रमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै नागरिकको अधिकार सुनिश्चित हुने वातावरण निर्माण नभएसम्म स्थायित्व सम्भव नहुने धारणा व्यक्त गरे।
उनका अनुसार राज्यले सबै जाति र समुदायलाई समेट्ने विश्वासिलो र समावेशी शासन अभ्यासमा उतार्न सके राजनीतिक स्थायित्व बलियो बन्छ। समान पहुँच, समान अवसर र समान सम्मानको प्रत्याभूति नै संविधानले निर्देशित गरेको मूल लक्ष्य भएको उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले आदिवासी समुदायका ज्ञान प्रणालीलाई केवल परम्परागत अभ्यासका रूपमा सीमित रूपमा नहेरी सांस्कृतिक पहिचान संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकाससँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए।
कार्यक्रमको सन्दर्भमा उनले उक्त सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक विमर्श र नीतिगत छलफलको केन्द्रमा ल्याउन सकारात्मक योगदान पुर्याउने अपेक्षा समेत व्यक्त गरे।







