काठमाडौँ । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने भएको छ । आज खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।
उनका अनुसार जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने छ ।
त्यसमध्ये पनि राप्तीसोनारी गाउँपालिकामा ७२०, कोहलपुर नगरपालिकामा एक हजार ७०६, बैजनाथ गाउँपालिकामा ८८०, एक हजार १९, जानकी गाउँपालिकामा ६७२, नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ४२४, डुडुवा गाउँपालिकामा ४४१ र नरैनापुर गाउँपालिकामा ७२१ जनालाई खोप लगाइने छ ।
खास गरी कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू, विद्यालय नजाने १० वर्षीया किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपका लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको छ । नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको जानकारी दिइन्।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप चिकित्साको क्षेत्रमा ठूलो उपलब्धि भएको उल्लेख गरे ।
जिल्लामा यही माघ २५ देखि फागुन ४ गतेसम्म लगाइने सो खोप राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा २६ गतेदेखि मात्रै लगाउन सुरु गरिने छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो ।







