काठमाडौँ। नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि तयार पार्दै गरेको घोषणापत्रमा ‘भिजन–१०’ समावेश गर्ने जनाएको छ।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले घोषणापत्रले देशको वर्तमान अवस्था र आवश्यकतालाई आधार मानी सुशासन, विकास र व्यवहारिक नीतिगत कार्ययोजनालाई प्राथमिकतामा राख्ने जानकारी दिए।
उनका अनुसार घोषणापत्र केवल आकांक्षा र प्रतिविद्धतामा सीमित नहुने छ। प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न आवश्यक स्रोत, साधन र उपायहरू पनि स्पष्ट रूपमा उल्लेख गरिनेछ, जसले घोषणापत्रलाई कार्यान्वयनयोग्य बनाउने अपेक्षा गरिएको छ।
प्रवक्ता चालिसेले घोषणापत्र निर्माण प्रक्रियामा देशभरका जिल्ला, क्षेत्र र स्थानीय तहबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै ती सुझावलाई समेटेर राष्ट्रिय आवश्यकता अनुरूप एकीकृत गरिने बताए। यसमार्फत वर्तमान चुनौती र दीर्घकालीन दिशालाई एकसाथ सम्बोधन गर्दै मतदातासमक्ष विश्वासयोग्य राजनीतिक विकल्प प्रस्तुत गरिने उनको दाबी छ।
काँग्रेसले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट नीतिगत खाका सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ। यसै सन्दर्भमा प्रवक्ता चालिसेले ‘न्यु टेस्ट’ को नाममा देशलाई प्रयोगात्मक क्षेत्र बनाउनु उपयुक्त नहुने चेतावनीसमेत दिएका छन्।
लोकतान्त्रिक प्रक्रियामा जनताको मत निर्णायक हुने उल्लेख गर्दै उनले जनसमर्थन प्राप्त गर्ने राजनीतिक संस्था समयसँगै अप्रासंगिक नहुने धारणा राखेका छन्। आगामी निर्वाचनले मुलुकको भावी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले नागरिकको सचेत सहभागिता महत्वपूर्ण रहने उनको भनाइ छ।







