काठमाडौँ । ल्हासा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेईबीच आज महावाणिज्यदूतावास कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल-चीनबीच ऐतिहासिक रूपमा रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका विविध आयामबारे छलफल भएको महावाणिज्यदूतावासले जनाएको छ । दुई देशबीच प्राज्ञिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।
भेटवार्तामा नेपाल र चीनका प्राज्ञ, सञ्चारकर्मी तथा संस्कृतिकर्मीहरूबीच सम्बन्ध विस्तार गर्दै त्यसलाई निरन्तरता दिने, सीमा क्षेत्रका युवाहरूबीच सहकार्य प्रवर्द्धन गर्ने लगायतका विषयमा विचार-विमर्श भएको थियो ।
त्यस अवसरमा दुवै देशका विश्वविद्यालय तथा शैक्षिक संस्थाबीच अनुभव आदान-प्रदान गर्ने, आपसी सहकार्य बढाउने र एक-अर्काको संस्कृति प्रवर्द्धनका लागि पहल गर्ने विषयमा समेत छलफल भएको महावाणिज्यदूतावासले जानकारी दिएको छ ।







