काठमाडौँ । अन्तर्राष्ट्रिय लगानी आकर्षण र सहजीकरणलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित लगानी बोर्ड नेपालले आर्थिक कूटनीतिसम्बन्धी समन्वयका लागि सम्पर्क व्यक्ति तोकेको छ।
बोर्डले उपसचिव मनोज रेग्मीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो। यस भूमिकामार्फत परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूसँग निरन्तर सम्पर्क र समन्वय गरी नेपालमा लगानी प्रवर्द्धनका गतिविधि सहज बनाइने लगानी बोर्डले जनाएको छ।
लगानी बोर्डका अनुसार सम्पर्क व्यक्तिले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी दिनुका साथै आवश्यक सूचना आदान-प्रदान र लगानी प्रक्रियामा देखिन सक्ने व्यवहारिक समस्याको समाधानमा सहकार्य गर्ने जिम्मेवारीसमेत निर्वाह गर्नेछन्।
यसअघि लगानी बोर्डको समन्वयमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको छलफलमा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिहरूले स्पष्ट सम्पर्क बिन्दु तोकिएमा लगानीसम्बन्धी जानकारी लिन र लगानी अभिवृद्धिमा थप प्रभावकारी भूमिका खेल्न सकिने सुझाव दिएका थिए।







