काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको एक विद्यालय भवन निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार बित्थडचिर गाउँपालिका वडा नम्बर ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको नमूना विद्यालय भवन निर्माणमा सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया उल्लङ्घन भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा स्थानीय तहको प्रशासनिक तथा प्राविधिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूको संलग्नता देखिएपछि उनीहरूलाई प्रतिवादी बनाइएको हो।
आरोप पत्रअनुसार गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र तत्कालीन सब–इन्जिनियर किरण भण्डारीले उक्त भवन निर्माण कार्यको प्रक्रिया, लागत मूल्यांकन तथा भुक्तानीसम्बन्धी कार्यमा प्रत्यक्ष संलग्नता जनाएका छन्। आयोगले उनीहरूविरुद्ध २० लाख १ हजार ७ सय ७९ रुपैयाँ १२ पैसा बराबरको बिगो कायम गरेको छ।
अनुसन्धानबाट सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना नगरी विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गराइएको, वास्तविक निर्माणभन्दा बढी मूल्यांकन गरी अन्तिम बिल र नापी किताबका आधारमा भुक्तानी सिफारिस गरिएको तथा यसबाट सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुगेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, कानुनअनुसार गर्नुपर्ने कर कट्टा र दाखिलाको दायित्व पूरा नगरिएको, विद्यालयको आन्तरिक कोष प्रयोग गरी कर दाखिला गरिएको विषय पनि अनुसन्धानको दायरामा परेको आयोगले जनाएको छ।
आयोगका अनुसार यी कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार कसुर ठहरिने देखिएकाले बिगो असुल उपर, जरिवाना तथा कैद सजायको माग दाबी सहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको हो।







