काठमाडौँ । नेपाली काँग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।
उनी आइतबार आफूले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही-४ जाने भएका हुन् ।
सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही-४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिए ।
‘भोलि म सर्लाही जाँदै छु । पटक पटक म गएको छु, क्षेत्र नम्बर ४ मा,’ उनले भने, ‘तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ ।’
सभापति थापाले सर्लाही-४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको पनि जिकिर गरेका छन् ।
सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गरेका छन् । युवाको भर परेर आफू सर्लाही-४ बाट निर्वाचन लड्ने मनस्थितिमा पुगेको उनको भनाइ थियो ।







