काठमाडौँ । एमालेका सचिव महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठकमा बस्नेतले उक्त कुरा उठाएका हुन् ।
एमाले सचिव बस्नेतले आफू पनि जेन जेड प्रदर्शनका क्रममा भएको क्षतिबाट पीडित भएको बताए । ‘मेरो घर आगजनी भएर म अहिले भाडाको घरमा बसिरहेको छु । राज्यका सम्पत्ति र मेरो घर जलेको छ । मेरो जलेको घर हेर्दै मैले घरदैलोमा जाने हो ? सरकारले जवाफ देओस्, ’बस्नेतले सोधे ।
सरकार निर्वाचन गराउनेमा लागेको भन्नेमा आशंका रहेको पनि बस्नेतको भनाइ छ । फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुन:स्थापना हुन्छ ? भन्ने प्रश्न पनि बस्नेतले बताए ।
अहिले पनि शान्ति सुरक्षाको वातावरण नरहेको बस्नेतको भनाइ थियो । दलका नेतामाथि स्थानहद लगाएको बताउँदै भयरहित निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयमा छलफल भइरहँदा जेन जेडका केही समूह प्रदर्शनमा रहेको बताउँदै बस्नेतले जेन जेड प्रदर्शनका क्रममा लुटेका हतियार कति छन् र जेलबाट भागेका कैदी के गर्दैछन् ? कता छन् ? भन्ने प्रश्न राखेका थिए ।
निर्वाचनको वातावरण बनाउनमा राजनीतिक दलहरूले अवरोध गरिरहेको भन्ने देखाउन लागिएको हो ? भनेर पनि सचिव बस्नेतको प्रश्न थियो । ‘संसद् पुन:स्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ को निर्वाचन हुन सक्दैन, ’उनले भने ।
सरकारले जेन जेडका केही समूहसँग संविधान संशोधन लगायतका कुरामा सम्झौता गरेकोमा आपत्ति रहेको पनि बस्नेतले बताए । उनले सैद्धान्तिक रूपमा सम्झौताप्रति हाम्रो आपत्ति नभए पनि सरकारले गरेका गतिविधिमाथि भने प्रश्न रहेको बताएका छन् ।







