काठमाडौँ । ‘प्रगतिशील राष्ट्रिय अभियान’ घोषणा गरेका जनार्दन शर्माले आज आफ्नो आगामी यात्राबारे जानकारी गराउने भएका छन् । दिउँसो २ बजे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आगामी रणनीति र कार्ययोजनाबारे जानकारी गराउन लागेका हुन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रसहित विभिन्न वाम घटकसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि अलग भएर बेग्लै अभियान घोषणा गरेका थिए । शर्माले ‘प्रचण्ड’को साथ छाडेपनि तत्कालीन माओवादीका नेताहरू राम कार्की, सुदन किराँतीलगायत केहीको मात्रै साथ पाएका छन् ।
‘प्रचण्ड’को साथ छाडेका उनी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एस छाडेका घनश्याम भुसालसँग सहकार्य गरेर अघि बढ्ने तयारी गरेका छन् ।
आजको पत्रकार सम्मेलनमा हिजो ‘प्रचण्ड’को साथ छाडेको घोषणा गरेका लक्ष्मण पन्त र ओम शर्मालगायत सहभागी हुनेछन् ।







