काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा र पूर्वराष्ट्रपति विद्या भण्डारीको बीचमा कुनै विवाद नभएको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको अन्तरक्रियामा पौडेलले भण्डारीको सदस्यता अध्यक्ष केपी ओलीले टुंगो लगाउने अपेक्षा गरेको बताए ।
‘बाहिर केपी शर्मा र विद्या भण्डारीबीच ठुलो विवाद रहेको कुरा आइरहेको छ, त्यसमा कुनै सत्यता छैन, उहाँहरू लामो समयको राजनीतिक सहयात्री हुनुहुन्छ, उहाँबीचमा सहमतिमै टुंगो लाग्छ समस्या हुँदैन’ उनले भने ।
यो विषयलाई ओली र विद्या भण्डारीका बीचको मनमुटाव भनेर चित्रण गरिएको भन्दै यसलाई उनले खारेज गरे ।
पौडेलले भने, ‘म तपाईँलाई स्पष्टसँग भन्न चाहन्छु केपी शर्मा ओली र विद्या भण्डारीका बीचमा कुनै पनि प्रकारको मनमुटाव छ भन्ने अनुमान सम्पूर्ण रूपमा असत्य हो । म दुवै नेताहरूलाई बडो नजिकबाट चिन्दछु । उहाँहरूको आपसी सम्बन्ध, उहाँहरूको बीचको सहकार्यलाई पनि मैले राम्रोसँग जान्दछु । त्यसकारणले उहाँ दुईजनाका बीचमा मनमुटाव छ, दूरी छ, कटुता छ भन्ने ढंगले जुन चर्चा हुने गर्छ, त्यो दूरी, कटुता, मनमुटाव केही पनि छैन ।’
पूर्वराष्ट्रपति राजनीतिमा आउनुहुन्छ कि हुन्न भन्ने कुनै सैद्धान्तिक प्रश्न नभएको भन्दै राजनीतिमा आउन मिल्दै मिल्दैन भन्ने ढंगले सैद्धान्तिक रूपमा प्रस्तुत गर्नुपर्ने विषय पनि नभएको उनको भनाइ छ ।







