काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले दलको विकल्प नरहेको बताएकी छन् ।
बिहीबार सिंहदरवारमा राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो । उक्त बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘भोलि कुन दल आउँछ थाहा छैन । तर दलको विकल्प देखिँदैन,’ सांसद गैरे भन्छिन्, ‘जेनजीहरू पनि दल बनाएर आउँदै छन् ।’
दलहरूप्रतिको धारणा नकारात्मक बनाउने प्रयास भएको उल्लेख गर्दै उनले दलको विकल्प नरहेको ख्याल गर्न आवश्यक रहेको बताएकी हुन् ।
समाजमा रहेका हरेक प्रश्नउपर छलफल र बहस गर्ने थलो संसद् भएकाले संसद्को प्रभावकारिता हुन आवश्यक रहेको उनले बताए ।
‘प्रतिनिधि सभा विघटन भएको छ । राष्ट्रिय सभा जीवित छ र यसले के गर्छ भनेर धेरैले ख्याल गरिरहेका छन्,’ उनी भन्छिन्, ‘यो बेला हाम्रो पनि सक्रियता आवश्यक छ ।’
सरकारले गरेका कामका विषयमा छलफल गर्न सकिने उनले बताइन् । देश र जनताभन्दा माथि कोही पनि नरहेको उल्लेख गर्दै उनले भनिन्, ‘देश र जनताको हितभन्दा बाहिर जोसुकैले जे ल्याए पनि कलम चोप्न हुँदैन ।’
शान्ति सुरक्षा, विकास आयोजना लगायतका विषयमा संसदीय समितिले सम्भव भए प्रधानमन्त्री नभए मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने उनको प्रस्ताव छ ।
उनले भनेकी छन्, ‘सम्भव भए प्रधानमन्त्री नभए मन्त्री वा विकासे कार्यालयका सम्बन्धित अधिकारीलाई भए पनि बोलाएर सोधौँ- योजनाहरू किन काटियो ?’







