काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्य संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, संवैधानिक परिषद् र न्याय परिषद्सम्बन्धी व्यवस्था यथावत कायम हुने निर्वाचनको कुनै औचित्य नरहने बताएका छन् ।
राप्रपा नेपाल मकवानपुरद्वारा हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले जेनजी युवाको चाहनाअनुसार भ्रष्टाचार र कुशासन अन्त्य गर्ने वाचा गरेर प्रधानमन्त्रीको जिम्मेवारी लिएकी सुशीला कार्कीले यही निर्वाचन प्रणाली, संवैधानिक अंगमा नियुक्ति व्यवस्था, राज्य संरचना र शासकीय स्वरूप यथावत् कायम राखेर परिवर्तनको चाहना पूरा नहुने बताएका हुन् ।
उनले भने, ‘अहिलेकै निर्वाचन प्रणाली कायम राखेर हुने चुनावपछि राजनीतिक स्थिरता कायम हुनेछ भन्ने ग्यारेन्टी प्रधानमन्त्रीले दिन सक्नुहुन्छ ?’
उनले जेनजी युवा पुस्ताको आन्दोलन सङ्गठित र संस्थागत नभएकाले उनीहरूले परिवर्तनको स्पष्ट खाका तयार नगरेको र भ्रष्टाचार तथा कुशासन अन्त्यको एक मात्र लक्ष्य रहेको बताए ।
उनले थपे, ‘आन्दोलनका दौरान प्रदेश संरचनाको खारेजी, शासकीय स्वरूप परिवर्तन, हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था स्थापनाका माग सडकमा उठे पनि तत्काल पूरा गर्न सम्भव पक्षमा समेत प्रधानमन्त्रीले सरोकारवालाको सर्वपक्षीय बैठकसमेत बोलाएर छलफल गर्नु भएन ।’
यथास्थितिमा निर्वाचन हुन्छ भनेर सरकारले दोहोर्याइरहेको बताउँदै उनले भने, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको भवन ध्वस्त हुनु लोकतन्त्रमाथि प्रहार हो ।’
उनले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतको सुरक्षा हुन नसकेको अवस्थामा सर्वसाधारण जनता पनि असुरक्षित हुने र अन्तरिम सरकारले जनतालाई आश्वस्त पार्न सक्दैन कि भन्ने संशय उठेको बताए।
उनले दलहरूप्रति कटाक्ष गर्दै भने, ‘भदौ २४ गते मध्यरातमा जेनजी युवा पुस्ताको आन्दोलनलाई देशीविदेशी शक्तिले ‘हाइज्याक’ गरे । ठूलो जुक्ति लगाएर’ व्यवस्था जोगाएको गर्व गर्दै गणतन्त्रका अवशेषहरूले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिने घोषणा गरे अनि जनता र युवा पुस्ताको परिवर्तनको चाहनामाथि तुषारापात गरे ।’







