काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको आज उद्घाटन गरेका हुन् । आज एक कार्यक्रमबीच उनले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गरे ।
संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
कार्यक्रममा मन्त्री पौडेलले अस्पताल व्यवस्थापनदेखि स्वास्थ्य बीमा, जनशक्ति र पूर्वाधारबारे आफ्नो धारणा राखे ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत डडेल्धुरा अस्पतालमा सेवा केन्द्र सञ्चालनमा समस्या आएको उल्लेख गर्दै संघीय अस्पतालबाट प्रथम सेवा केन्द्र विन्दु उपलब्ध हुन नसक्ने प्रष्ट पारे । उनका अनुसार यस विषयमा अस्पताललाई संघ मातहत राख्ने कि प्रदेश मातहत राख्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक छ । यसका लागि स्थानीय तह र राजनीतिक दलले आफ्नो धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री पौडेलले भने, “स्थानीय तहले आधारभूत अस्पताल स्थापना गर्ने हो भने अहिले देखिएका धेरै समस्या समाधान हुन्छन् । आधारभूत अस्पतालका लागि भवन बनेका ठाउँमा मन्त्रालयले बजेटको व्यवस्था गर्छ । साथै छात्रवृत्तिबाट अध्ययन गरेका चिकित्सकलाई त्यही ठाउँमा पठाइन्छ ।”
डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमावापत अझै रु. दुई करोड पाउन बाँकी रहेको मन्त्री पौडेलले जानकारी दिए । उनले तीन सय शैययाका लागि दरबन्दी स्वीकृत भइसकेको बताए । आगामी एक वर्षभित्र डडेल्धुरा लगायतका सबै अस्पताललाई पाँच सय शैययामा विस्तार गरिने घोषणा गरे







