काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अंग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताएका छन्।
विश्व अंगदान दिवसका अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अंगदान हुन नसकेकाले नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताए ।
स्वास्थ्य मन्त्री पौडेलले भने, “बिमासँग विपन्न वर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु नौ लाखसम्म पुग्छ । त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अंगदान गर्नेलाई नि:शुल्क बिमा गर्ने व्यवस्था आवश्यक छ । यसका लागि लागिरहेका छौँ ।”
अंग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उनले सबै संघीय अस्पतालको क्षमता तीन गुणा बढाएर सबैलाई कम्तीमा ५०० शय्या बनाउनुपर्ने र दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताए ।
क्यान्सरकोसमेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटीस्क्यान मेसिन विस्तार गर्दै लगिने बताए ।
मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका जारी हुनु लागेको बताउँदै भारतमा खुलेआम अंग बेचबिखन भएपछि भारतले कडाइ गरेको अवस्थामा नेपालमा पनि अंगदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता भएको बताए ।
मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पुर्याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताए ।
प्रत्यारोपण सेवालाई सात वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै उनले विशिष्टीकृत उपचारलाई काठमाडौँ उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले लिएको बताए ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अगाडि सार्नुपर्ने बताए ।
प्रतिनिधि सभाका सांसद दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै शय्या अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मस्तिष्क मृत्युपश्चात् हुने अंगदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरुआत हुनु नै स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालमै मिर्गौला र कलेजो प्रत्यारोपणले राज्यको अर्बौँ रुपैयाँ विदेशिनबाट जोगिएको बताए ।
अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मिर्गौला प्रत्यारोपण सेवाको सुरुआत भएसँगै बिरामीलाई आर्थिक तथा मानसिक रूपमा धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताए ।
कार्यक्रममा प्रत्यारोपणका संयोजक डा. कल्पनाकुमारी श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त व्यक्तिको अंगदानबाट नयाँ जीवन पाएका शिव महर्जनले अंगदान र जीवनबारे अनुभव सुनाएकी थिईन् ।







