काठमाडौँ। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएका छन्।
नेरुडे लघुवित्तमा करिब १ हजार १ सय कर्मचारी कार्यरत छन् भने उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी रहेका छन्। कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था छ। यस अन्तर्गत योगदानमा वा गैर-योगदानमा आधारित भएर संघ-संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्। सोही व्यवस्थाअनुसार दुवै लघुवित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएका हुन्। यसअघि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि यस योजनामा आबद्ध भइसकेको छ।
कोषले २०५५ सालदेखि सुरु गरेको उपदान तथा पेन्सन योजनाअन्तर्गत विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गरिन्छ। कर्मचारी निवृत्त भएपछि संकलित रकम भुक्तानी गरिन्छ।
यस योजनामा योगदानमा आधारित वा गैर–योगदानमा आधारित रकम जम्मा गरी सहभागी हुन सकिन्छ। हालसम्म यस योजनामा १ हजार १५० संगठित संस्था र तिनमा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी छन्। व्यक्तिगत रूपमा सहभागी हुने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनः संरचना, पुनर्तालिकीकरण तथा घर सजावटका लागि कर्जा सुविधा पाउनेछन्। साथै, आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका आकस्मिक आवश्यकताका लागि पनि सरल कर्जा सुविधा पाउने व्यवस्था रहेको छ।







