काठमाडौँ । सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेबारे विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति कारागार प्रशासनले कुनै पनि सुविधामा विभेद नगरिएको स्पष्ट पारेको छ।
कारागार प्रशासक सुरेश भण्डारीले कारागार कार्यालयको विषयमा विभिन्न मिडियामा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचारमा प्रयोग गरिएको तस्बिर रुपन्देही कारागारभित्रको नभएको र समाचारमा वर्णन गरिएजस्तो अवस्था वास्तविकतासँग मेल नखाने दाबी गरेका छन्।
उनका अनुसार, चैत २५ गतेदेखि सहकारी ठगी मुद्दामा थुनुवाको रूपमा रहेका पूर्व उपप्रधानमन्त्री तथा हाल निलम्बनमा रहेका प्रतिनिधि सभा सदस्य लामिछानेलाई सुरक्षालाई मध्यनजर गर्दै छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको हो। “कारागार प्रशासनले समय समयमा उहाँलाई भेटेर समस्या तथा आवश्यकताबारे सोधपुछ गर्ने गरेको छ र देखिएका समस्या समाधानसमेत गर्ने गरेको छ,” भण्डारीले भने। “अन्य सामान्य कैदीहरूले पाउने सेवा-सुविधामा विभेद नगरी उहाँलाई पनि समान सुविधा दिइएको छ। उहाँले चाहेको खण्डमा मात्र बाहिरबाट भेट्ने अनुमति र सञ्चार सुविधा प्रयोगको व्यवस्था मिलाइएको छ।”
भण्डारीद्वारा जारी विज्ञप्तीमा कारागार सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन वा प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने तस्बिर वा सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ। साथै, आवश्यक जानकारी आधिकारिक स्रोतबाट मात्र लिएर सत्यतथ्य समाचार प्रकाशन गर्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।








